१३ बैशाख २०८१, बिहीबार

आफूलाई एमालेको ह्वीप नलाग्ने लुम्बिनी प्रदेशका मन्त्री शाहीको स्प्रष्टिकरण

ajaya shahi 69

लुम्बिनी प्रदेश सभा सदस्य एवम नवनियुक्त मन्त्री अजय शाहीले एमालेलाई स्पष्टिकरणको जवाफ दिँदै आफूलाई एमालेको ह्वीप नलाग्ने बताउनुभएको छ ।

तत्कालीन एमाले र आफू आवद्ध स्वतन्त्र राजनीतिक समूहबीच सम्झौता भएर सूर्य चिन्हमा चुनाव लडेको र एमालेको सदस्यता नलिएकाले ह्वीप नलाग्ने शाहीले स्पष्टिकरण पत्रमा उल्लेख गर्नुभएको छ ।

स्वतन्त्र रुपमा निर्वाचित प्रदेश संसद्लाई कुनै पार्टी विशेषको ह्वीप नलाग्ने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

हृदयेश त्रिपाठी समूहबाट निर्वाचित शाहीले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कुलप्रसाद केसीलाई साथ दिँदै मन्त्री बन्नुभएको छ । शाहीलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले साउन २८ गते स्पष्टीकरण सोध्नुभएको थियो ।

एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित भएको र एमाले संसदीय दलको सदस्यको रुपमा बैठकमा भाग लिने गरेको भन्दै ढकालले कारवाहीको चेतावनी दिनुभएको थियो ।

एमाले र ह्रदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच २०७४ असोज १६ गते दुई बुँदे सहमति भएको थियो। जसमा एमालेको तर्फबाट ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयश त्रिपाठी, विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदिश शुक्लाले हस्ताक्षर गर्नुभएको थियो ।

सहमतिको पहिलो बुँदामा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता प्रतिनिधि सभा, प्रदेश सभा तथा राष्ट्रिय सभाको चुनावमा सूर्य चिह्न लिएर सहभागी हुने र स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील रहने उल्लेख छ ।