६ बैशाख २०८१, बिहीबार

लुम्बिनी प्रदेशमा जस्तै गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

pokhrel cabinet
फाइल फोटो

गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली कांग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’

अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भने, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्‍यो ।

वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुप¥यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्‍यो । रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताए । पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताए ।