१६ चैत्र २०८०, शुक्रबार

पैदलयात्रीको ढुङ्गाले लागेर निधन

death body 696x392 1

पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निधन हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहनुभएको छ ।

उहाँको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उहाँसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ जानुभएको थियो । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो ।

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पु¥याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्वारकर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुञ्चे पु¥याउने छन् । रासस