१४ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा रहेका नेपालीबारे सरकार किन मौन ? समितिले दियो चासो

foreign ministry nepal

पछिल्लो केही हप्तायता अफगानस्तानमा तालिवान विद्रोही समूहले विभिन्न प्रान्त नियन्त्रणमा लिनेक्रम बढेपछि विभिन्न देशले आफ्ना नागरिकलाई फिर्ता बोलाउने क्रम शुरु गरेका छन् ।

तर नेपालले भने त्यहाँ रहेका नेपाली वा उनीहरूका आफन्तले चाहेमा मात्र आवश्यक निर्णय गर्ने भएको छ । करिब १५ सय नेपाली अफगानिस्तानमा पुगेको र त्यहाँको द्वन्द्वलाई नजिकबाट नियालिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा रहेका नेपालीका बारेमा संसदीय समितिले केही दिनमा सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले केही दिनमा बैठक बोलाएर सरकारलाई आवश्यक निर्देशन दिइने बताउनुभयो ।

तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ ।

काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिवानले कब्जा गरिसकेको खबर सार्वजजिक भइरहँदा त्यहाँ रहेका नेपालीका आफन्त भने चिन्तित छन् ।

पछिल्लो समय तालिवान लडाकु राजधानी काबुल कब्जा गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।