७ बैशाख २०८१, शुक्रबार

चितवनमा ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश

DSC 1003
फाइल फोटो

विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चितवनमा संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा आएपछि पार्टीले अहिले देशव्यापी रुपमा संगठन विस्तार र पार्टीको योजना जनतामाझ अगाडि बढाउँदै लगेको हो ।

पूर्वी चितवन राप्ती नगरपालिका वडा नम्वर २ का ५२ जना युवा आज अन्य पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका छन् ।
वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिँदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाइँले दाबी गरे । पार्टीको योजना र कार्यक्रमप्रति युवाहरुको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाइ छ ।

पार्टीले चितवनमा संगठन विस्तारलाई आक्रामक रुपमा अगाडि बढाउँदै वैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमत संग्रहका सन्र्दभमा नागरिकलाई सूसुचित गर्दै लगेको चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देश पौडेलले बताए ।

पार्टीले अहिले धमाधम संगठन विस्तार र कार्यकर्तालाई पार्टीको एजेण्डा र भावी योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाइ छ । वर्तमान संसदीय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफूहरुले यसको विकल्पको रुपमा जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको उनले बताए ।

वैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पूरा हुने र त्यसका लागि वर्तमान संसदीय व्यवस्था फाल्नका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए ।

स्वास्थ्य उपचारमा नागरिक माथि गरिने लुट आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने र आफनो संगठनले सरकारी र अन्य अस्पतालको स्वास्थ्य सेवा लाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।

कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अब एक पटक युवाहरु स्वास्थ्य क्षेत्रका माफियाका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाइ छ ।

आफू सर्वसुलभ प्रभावकारी स्वास्थ्य र शिक्षा नागरिकले पाउनुपर्छ भन्ने मुल एजेण्डामा केन्द्रित भएको र त्यसका लागि देशव्यापी अभियान केन्द्रित गर्ने उनको भनाइ छ । नागरिकको आधारभूत आवश्यता प्राप्तिका लागि सबै युवाहरु अब एक भएर यो व्यवस्था विरुद्ध सङ्घर्ष गरेर जनताको अधिकार स्थापित गर्न पर्ने उनको तर्क छ । युवाहरुको पार्टीमा प्रवेशले पार्टीलाई जिवन्त बनाउने डा चन्दले बताए । कार्यक्रममा सयौंको संख्यामा स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।