४ बैशाख २०८१, मंगलवार

प्रदेश १ मा कोरोना संक्रमण उच्च र संक्रमण दर बढेर ४१ प्रतिशत पुग्यो, अस्पताल संक्रमितले भरिभराउ

province 1 pradesh 1

प्रदेश एक मा कोरोना संक्रमण उच्च छ । विशेषगरी झापा, मोरङ र सुनसरीमा संक्रमण थामिन सकेको छैन । संक्रमितको संख्या बढेपछि अस्पताल पनि भरिन थालेका छन् ।

कोरोना संक्रमणदर बढेपछि प्रदेश १ का धेरै जिल्लामा निषेधाज्ञा कडा बनाउँदै लगिएको छ । अघिल्लो महिना केही कम भएको संक्रमण अहिले फेरि बढेको छ । कोभिड अस्पतालमा बिरामी भरी भराउ भएका छन् ।

विशेषगरी सघन वस्ती भएका मोरङ, सुनसरी र झापामा संक्रमण दर उच्च छ । प्रदेश एकमा जेठ दोश्रो सातासम्म संक्रमण दर उच्च भई दैनिक १२ सयभन्दा बढी पुगेको थियो । तर असारको दोस्रो सातसम्म पुग्दा यो झरेर साढे दुई सयको हाराहारीमा पुग्यो । तर पछिल्ला दिनमा संक्रमण फेरि बढ्दै गएको छ । जसका कारण अस्पतालमा विरामीको चाप ह्वात्तै बढेको छ ।

सरकारको तथ्याङक अनुसार प्रदेशमा अहिले संक्रमणदर बढेर ४१ प्रतिशत पुगेको छ । निकै कम भएकोमा पहाडी तथा हिमाली जिल्लामा पनि अहिले दैनिक संक्रमित हुनेको संख्या बढ्दै छ । अहिले प्रदेशका चारवटा सरकारी अस्पतालले संक्रमितको उपचार गर्दै आएका छन् ।

विराटनगर स्थित कोशी अस्पताल, कोशी अस्पतालकै कोभिड –१९ उपचार केन्द्र, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पतालमा कोरोनाका विरामीको भइरहेको छ । कोशी अस्पतालमा १० दिन अघि जम्मा ९ जना संक्रमित उपचाररत रहेकोमा यो बीचमा ६२ जना थपिएका छन् । संक्रमितको संख्यासँगै अस्पतालमा उपचारको चुनौती पनि बढेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरु संक्रमितले भरिन थालेको बताएको छ । मन्त्रालयका अनुसार हाल प्रदेश भरका चार सरकारी सहित ११ अस्पतालमा १ हजार ६ सय ४८ संक्रमितको उपचार भइरहेको छ । ति मध्ये १ सय ६७ जना भेन्टिलेटर र २ सय ९८ जना आइसीयुमा छन् । मन्त्रालयले प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजारभन्दा बढी पुगेको जनाएको छ ।