७ बैशाख २०८१, शुक्रबार

परमादेशबाट बनेको सरकारले काम गर्न नसक्ने पूर्वमुख्यमन्त्री पोखरेलको दाबी

Shankar Pokharel
फाइल फोटो

नेकपा एमालेका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको सरकार अदालतको परमादेशबाट बनेको भन्दै यसले काम गर्न नसक्ने दाबी गर्नुभएको छ ।

दाङको घोराहीमा आज सहिद नेत्रलाल अभागीको शालिक अनावरण गर्दै नेता पोखरेलले सरकार जनमतबाट नभएर अदालतबाट बनेको बताउनुभयो । अदालतले सरकार बनाउनु संसदीय लोकतन्त्रकै मजाक भएको उहाँको टिप्पणी छ ।

लोकतन्त्रमा जनमतबाट या संसदबाट मात्रै सरकार बन्न सक्ने बताएका नेता पोखरेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई १ सय ६५ सांसदले समर्थन गरेको प्रसंग भने उल्लेख गर्नुभएन ।

उहाँले देउवाले सरकार चलाउन नसकेर छिट्टै चुनाव घोषणा गर्ने दाबी पनि गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ मा प्रदेश सरकारको १५ लाख लागतमा अभागीको शालिक बनाइएको हो ।