१३ बैशाख २०८१, बिहीबार

आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने माओवादी केन्द्रको प्रस्ताव

maobadi kendra

नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो । पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तर्गत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तर्गत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ ।’

बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ । संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा पनि अध्यक्ष दाहालको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल शुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।

सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल शुरु गरेको र ती समूहहरुका निष्कर्ष भोलि बिहान ११ बजे पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुनेछ ।

सबै समूहको निष्कर्षको आधारमा पार्टीले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नु भएको दुवै प्रस्तावउपर आवश्यक निर्णय लिने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।