८ बैशाख २०८१, शनिबार

तालिवान विद्रोहीद्वारा अफगानिस्तानको दुई ठुला शहरमाथि नियन्त्रण

afgan
फाइल फोटो

अफगानिस्तानमा तालिवान विद्रोहीले थप दुई ठूला शहरमाथि नियन्त्रण कायम गरेका छन् ।

तालिवानले गजनी र हेरातमाथि नियन्त्रण बनाएका हुन् । गजनी कब्जामा लिएसँगै विद्रोहीले अब राजधानी काबुल नियन्त्रणमा लिने सम्भावना बढेको अन्तराष्ट्रिय सञ्चामाध्यले उल्लेख गरेका छन् ।

गजनी क्षेत्र राजधानी काबुलदेखि १ सय ५० किलोमिटरको दूरीमा छ। त्यस्तै उनीहरुले अफगानिस्तानको तेस्रो ठूलो शहर हेरात पनि नियन्त्रणमा लिएका छन् । हेरातस्थित प्रहरी मुख्यालय कब्जामा लिन ठूलो लडाइँ लड्नु नपरेको विद्रोहीको दाबी छ।

हेरात केही दिनयता तालिबानको घेराबन्दीमा थियो । त्यस्तै दोस्रो ठूलो शहर कान्दाहारमा पनि भीषण लडाइँ जारी नै रहेको छ । लडाइँका कारण कान्दाहारको अहमद शाह बाबा अन्तर्राष्ट्रिय विमानस्थलका उडान रद्द गरिएको छ। तर तालिबानले कान्दाहार पनि कब्जामा लिएको दाबी गरेको छ।

तालिवानले एक हप्ताको अवधिमा ३४ मध्ये १० प्रान्तका राजधानी तथा एक दर्जन शहर मा कब्जा जमाएका छन्। विद्रोहीले दैनिक जसो नयाँ शहर र क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रबाट हजारौंको संख्यामा सर्वसाधारण राजधानी काबुलतर्फ पलायन हुन थालेका छन् । यसैबीच सरकारले देशमा जारी हिंसा अन्त्यका लागि तालिबानलाई सत्ता साझेदारीको प्रस्ताव गरेको छ।

कतारस्थित सरकारी वार्ता टोलीलाई उदृत गर्दै हिंसा अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले सत्ता साझेदारीको प्रस्ताव गरेको हो । सरकारले कतारको मध्यस्थतामा प्रस्ताव पेश गरेको एक सरकारी अधिकारीले जनाएको बताइएको छ ।