१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनबाट एक–एक जनाले लुम्बिनी प्रदेशमा मन्त्रीको शपथ लिने

kula prasad kc

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठनको तयारी हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका छन् ।

अहिलेसम्म चार दलका गठबन्धन (नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पाटीं र राष्ट्रिय जनमोर्चा)बाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् ।

एमालेले सरकारका लागि दाबी पेस नगर्ने भएको छ । एमालेको दाबी पर्दा पनि केसी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । माओवादी सांसद् इन्द्रजित थारुकाअनुसार साँझा ५ बजे मुख्यमन्त्रीको शपथ हुने तयारी छ ।

मुख्यमन्त्री केसीले आफ्नो मन्त्रिमण्डलमा आज कांग्रेस, माओवादी र जसपाबाट एक–एक जना मन्त्री बनाउने छन् । कांग्रेसबाट पाल्पाका वीरबहादुर राना र दाङका डिल्ली चौधरीमध्ये एक जनाले मन्त्रीको शपथ लिने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

यस्तै, जसपाबाट कपिलबस्तुका सहसराम यादव मन्त्री बन्ने सम्भावना छ । जसपाले सुमन शर्मा रायमाझी र पुर्मती ढेंगामगरलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । जसपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भइसकेको जसपा स्रोतले जानकारी दिएको छ ।