१३ बैशाख २०८१, बिहीबार

चाबहिलमा गर्भवती श्रीमतीको हत्या, आफैँले गरे प्रहरीलाई खबर ‘मैले श्रीमती मारेँ’

muder killed
सांकेतिक तस्विर

काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

अधिकांश अपराधका घटना भएपछि अपराधीले आफूलाई लुकाउन खोज्छ। घटनापछि कति जना भाग्छन् त कति चुप बस्छन्। तर बुधवार बिहान एउटा अपराधको घटनामा अभियुक्तले नै प्रहरीलाई फोन गरेर जानकारी दिए।

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।

श्रीमतीको हत्या गरेको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरेका थिए। ‘उसैले फोन गरेर मारेको जानकारी दिएको थियो,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।

उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रञ्जनाको शव भेटिएको थियो ।

‘हामी पुग्दा साढे ९ बजेको थियो होला। ढोका खोलेर हेर्दा एक जना मानिसभित्र बसिरहेका थिए। खाटमा एक महिलाको शव थियो,’ अनुसन्धानमा गएका एक प्रहरी अधिकृतले सुनाए।

कोठाभित्र प्रहरीले फेला पारेका व्यक्ति राम श्रेष्ठ थिए। खाटमा मृत भेटिएकी महिला २३ वर्षीय रन्जु तामाङ थिइन्। शवलाई छोपिएको थियो। शरीरमा कुनै चोट थिएन। घाँटीमा निल डाम थियो।

‘उसले सुरुमा खाटमा लडाइएको अनि घाँटीमा थिचेर मारेको भन्यो। उसलाई मारेकोमा कुनै पश्चताप नै देखिदैंन थियो,’ ती प्रहरीले सुनाए।

श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । त्यसो त श्रेष्ठको पनि दाहिने हातमा काटिएको थियो। उनले चक्कुले आफ्नो हात काटेको प्रहरीमा बयान दिएका छन्। प्रहरीले श्रेष्ठलाई उपचारको लागि अस्पताल पुर्‍यायो। शवलाई पोस्टमार्टम गर्न लगिएको छ। मृतक गर्भवती भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।