१३ बैशाख २०८१, बिहीबार

प्रम देउवामाथि संसदमा ओलीको हमला

oli deuba

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन भारतसित डराएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले साझा कार्यक्रम सार्वजनिक गर्दा नेपाली भूमि समेत डराएर आफ्नो भन्न नसकेको आरोप लगाउनुभयो । ओलीले एमसीसी पारित गर्ने कि नगर्ने भनेर समेत सोध्नुभएको छ ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक प्रतिनिधिसभामा बोलेका एमाले अध्यक्ष केपी शर्मा ओली सरकार र नयाँ सत्तागठबन्धनप्रति निकै आक्रामक देखिनुभयो । तीन दिनअघि सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम हातमा लिएर बोलेका ओलीले त्यही साझा न्यूनतम कार्यक्रममा केन्द्रीत भएर सरकारमाथि हमला गर्नुभयो ।

राष्ट्रवादको नारा दिएर सत्तामा आएर विदा भएका ओलीले फेरि पनि त्यो विषय उठाउनुभयो । सरकारले लिम्पियाधुरा र कालापानी भारतलाई छोड्न खोजेको आशंका गर्दै ओलीले त्यसो नगर्न सचेत गराउनुभयो । भारतले मिचेको नेपाली भूभागलाई समस्या मानेकोमा ओलीको कडा आपत्ति छ ।

भारतले नेपाली भूमि मिचेपनि सरकारको साझा न्यूनतम कार्यक्रममा भारतको नाम उल्लेख छैन र छिमेकीहरुसितको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ ।

ओली सरकारको पालामा चीनसँग सीमा समस्या छैन भनिएको थियो । देउवा सरकारले भने चीनसँग पनि समस्या छ भन्न खोजेको छ । यसमा पनि ओलीले सरकारको प्रष्टता खोज्नुभयो । किनकी देउवा सरकार र सत्ता गठबन्धन भारतसित डराएको ओलीको विश्लेषण छ ।

भारतले नेपाली भूमि मिचेको विषयमा मात्रै होइन, ओलीले एमसीसीको विषयमा पनि प्रधानमन्त्री देउवा र सत्तागठबन्धनलाई निशाना बनाउनुभयो । सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीका बारेमा पनि बोलिएको छैन । एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका ओलीले आफैले गरेको सम्झौता बारे किन मौन भनेर पनि प्रधानमन्त्री देउवालाई प्रश्न गर्नुभयो ।

एमसीसीका विषयमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, आफ्नै पार्टीका वरिष्ठ नेता माधवुकमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवको धारणा पनि के हो भनेर सोध्नुभयो ।

सरकारको साझा न्यूनतम कार्यक्रम बेला बेला पढ्दै संसदमा प्रश्न उठाएका ओलीले कोभिड विरुद्धको खोप किन्दा भएको भनिएको अनियमितताको विषयमा छानवीन गर्ने देउवा सरकारको प्रतिवद्धतालाई राजनीतिक प्रतिशोध साँध्ने प्रयत्न भन्नुभयो । र, आफ्नो सरकारका पालाका विषय छानबिन गर्ने भए अरु किन नगर्ने भनेर लडाकू शिविर, ललिता निवास, मातातीर्थको जग्गा र गौर हत्याकाण्डको छानबिन हुनुपर्ने तर्क अघि सार्नुभयो ।

लडाकू शिविरमा भएको भनिएको अनियमिततामा प्रचण्ड, ललिता निवास जग्गा प्रकरणमा एमाले वरिष्ठ नेता माधबकमार नेपाल र कांग्रेस उपसभापति विजयकुमार गच्छदार, मातातीर्थको जग्गाका विषयमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नाम जोडिएको छ ।

त्यसै गरी गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवका पनि हात रहेको आरोप लाग्ने गरेको छ । तर एमाले अध्यक्ष ओलीले संसदमा जे विषय उठाउनुभयो, ती विषय छानवीन भएर निष्कर्षमा पुगुन भन्ने भन्दा पनि आफ्नै पालामा भएको भनिएका विषय पनि छानवीन नहोउन भन्ने हो कि भन्ने आशंका गरिएको छ । नियत जे भएपनि प्रतिपक्षका रुपमा एमाले आक्रामकनै हुनेछ भन्ने सन्देश ओलीले संसदबाट दिनुभएको छ ।