१३ बैशाख २०८१, बिहीबार

असाधारण शक्तिका साथ फेरि प्रधानमन्त्री बन्ने ओलीको दाबी

kp oli 1

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गर्नु भएको छ ।

आफूलाई अघिल्लो पटक र अहिले पनि जालझेल, षडयन्त्र, तिकडम, अपवित्र गठबन्धनबाट हटाएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले फेरि असाधारण शक्तिका साथ मूल ढोकाबाट शक्तिमा आउने बताउनु भएको हो ।

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मलाई त्यति बेला पनि जालझेल, षडयन्त्र, तिकडम, गठबन्धनबाट हटाएको हो । मैले त्यतिबेला भनेको थिएँ–म झ्यालबाट होइन्, जस्केलाबाट होइन, सिँढीबाट होइन्, भेन्टिलेशनबाट होइन, म मूलढोकाबाट, मूलगेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ फेरि पनि मूलबाटो, मूलगेट, मूलढोकाबाट फेरि पनि प्रवेश गरिनेछ ।’

अध्यक्ष ओलीले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा जाली मुद्दा जितेर प्रधानमन्त्री भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले सरकारको सय दिन केही पनि काम नगरी खेर गएको बताउनुभयो । स्वार्थहरुको गठजोडबाट बनेको सरकारले मुलुकको विकासको अभियानलाई अघि बढाउनै नसक्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गर्नु भयो । एमसीसीबारे के गर्नु हुन्छ ? सरकारको साझा न्यूनतम कार्यक्रमा समावेश गर्न बिर्सिएको हो ? उहाँले प्रधानमन्त्री देउवालाई सोध्नु भएको थियो । अध्यक्ष ओलीले एमसीसीबारे सरकार चुप लागेर बस्न नमिल्ने पनि बताउनु भयो ।

उहाँले आफ्नै पार्टीका नेताहरु मन्त्रीका लागि कुदेको उल्लेख गर्दै मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई आग्रह समेत गर्नु भयो । उहाँले भन्नुभयो, ‘मेरै पार्टीका केही नेताहरु पाउँला र खाउँला भनेर यहाँको पछि कुदेका छन । तिनीहरुलाई मन्त्री दिनुहोस् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भएपनि सहुँला ।’

ओलीले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप थुपारेको दावी गर्दै छिटो वितरण गर्न सरकारलाई दवाव समेत दिनुभयो । ‘चैत्रसम्म किन पर्खनु हुन्छ ? लगभग एक करोड स्टकमा छ । लगाउनुुुस् न छिटोछिटो ।’ उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि चैत्रसम्ममा मात्रै सबै नागरिकलाई खोप उपलब्ध गराउने हो भनेर सरकारले भनेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘लक्षण राम्रो छैन । हौसिएर म आगो हुँ, नखेल भनिएको छ । म सम्झन्छु , उहाँले विगतमा डढेलो लगाएको । त्यसलाई निभाउन पानी खन्याउनु पर्दछ भन्ने म जान्दछु ।’ अध्यक्ष ओलीले धम्की दिन छाडेर काम गर्न सरकारलाई पटक पटक आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले तत्कालीन माओवादीको जनसेनाको अस्थायी शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गर्नुभयो । भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको नीति आएको उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘छानबिन गर्ने र कारबाही गर्ने कुरा राम्रो हो । क्यान्टोमेन्टको यत्रो कुरा उठेको छ । यो गठबन्धन सरकारले यस कुराको छानबिन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

ओलीले आफू प्रधानमन्त्रीबाट हटेकोमा चिन्ता नभएको पनि बताउनु भयो ।