७ बैशाख २०८१, शुक्रबार

बालुवा उत्खननले जुम्ला–मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा

Baluwa Utkhann jumla

अवैध रुपमा बालुवा उत्खनन गर्दा जुम्ला हुँदै मनाङ मुस्ताङ जोड्ने पक्की पुल जोखिममा रहेको छ । दर्जनौँ स्थानीयले दैनिक पुल आसपासको क्षेत्रका धमाधम बालुवा उत्खनन गर्न थालेपछि पुल जोखिममा परेको हो । साउन भदौमा पानी बढेर नदी कटान गर्ने कुरा त छदै छ । त्यसैमाथि स्थानीयहरूले दैनिक बालुवा उत्खननले गर्दा पुल जोखिममा परेको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पुल निर्माण थालनी हुँदा देखिनै बालुवा उत्खनन भइरहेको छ । पुल सञ्चालनमा ल्याउने बेला दुवै तर्फ ग्याभिन सहितको पर्खाल हाल्न खोज्यौ तर स्थानीयले बसपार्क साइटमा ग्याभिन हाल्न नदिएर विरोध गरे । कि आफ्नो जग्गाको क्षतिपूर्ति देऊ कि बालुवा उत्खनन गर्न रोक्दैनौ भने । पुल सञ्चालन आएको ३ वर्ष भइसक्दा पनि दिनानुदिन बालुवा उत्खनन नरोकिएपछि पुल जोखिखमा रहेको छ ।”

भ्याट सहित ५ करोड ८५ लाख ७१ हजार लागतको जुम्ला हुँदै मनाङ मुस्ताङ जोड्ने पक्की पुल २०७६ साल कार्तिक २३ गते सम्पन्न भई केही समयपछि सञ्चालनमा आएको थियो । पुल सञ्चालन हुनुपुर्व दुवै तर्फ व्यवस्थित ग्याभिन पर्खाल हाल्न खोज्दा बालुवा उत्खनन गर्ने साइटमा स्थानीयले विरोध गरेपछि पर्खाल हालिएन ।

तर आजभोलि दर्जनौँ स्थानीयहरू दैनिक पुललाई नै क्षति हुने गरी बालुवा उत्खनन गर्न थालेपछि सडक डिभिजन जुम्लाले चिन्ता व्यक्त गरेको छ । भने, स्थानीयहरूले पुल जोखिम पर्दा समेत बालुवा उत्खनन रोक्न प्रशासन मुकर्दक बनेको भन्दै गुनासो गरेका छन् ।

स्थानीय देवेन्द्र बुढाले भने,“दैनिक पानीको बहाव बढ्दै छ । नदी कटान पनि बढ्दै छन् । भने, स्थानीयले पुलमुनि तिरै बालुवा उत्खनन गरिरहेका छन् । राज्यको करोडौँ बजेट खर्चेर निर्माण गरिएको पुल मनाङ मुस्ताङ जाने सडक निर्माण नहुँदै नभत्किएला भन्न पनि सकिदैन् । प्रशासनले छिटै नियमन गर्नुपर्छ ।”

यता जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पक्की पुल नै जोखिममा पर्ने गरी बालुवा उत्खनन भइरहेको सुनिएको र छ बेलैमा रोक्न संयन्त्र परिचालन गर्नुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले पुललाई नै जोखिम हुने गरी जथाभाबी रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न पहिलो चरण प्रहरी पठाएर सम्झाइने र नमाने औपचारिक निर्णय गरेर रोकिने जानकारी दिनुभयो ।