१३ बैशाख २०८१, बिहीबार

तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ, विकल्पबारे सभापतिले नै प्रस्ताव ल्याउनुपर्ने गगन थापाको जोड

gaganthapa09th
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले महाधिवेशनको विकल्पबारे सभापतिले नै प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार पौडेल पक्षीय जिल्ला सभापति भेलामा नेता थापाले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने बताए । थापाले भने, ‘हाम्रो जोड तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने हो, तर महाधिवेशन नहुने अवस्था आयो भने के गर्ने भन्नेबारे सभापतिले विकल्पसहितको प्रस्ताव ल्याउनुपर्छ ।’

बैठकमा सहभागी एक नेताका अनुसार महाधिवेशन समयमै हुन नसक्नुको कारणसहित सभापतिले विकल्प पेश गर्नुपर्ने धारणा राखेका थिए । ‘किन निर्धारित मितिमा महाधिवेशन भएन र अब कसरी जाने भन्ने प्रस्ताव सभापतिले टेबल गर्नुपर्‍यो,’ थापाले भने, ‘त्यो प्रस्तावमाथि हामी छलफल गरौंला । तर हामीले नै यस्तो गर्नुपर्छ भनेर विकल्प दिनु उचित हुँदैन ।’

जिल्ला सभापतिको सोमबारदेखि जारी बैठकलाई पौडेल समूहका केन्द्रीय नेताहरुले सम्बोधन गरेका हुन् । जिल्ला सभापतिमा भेलामा विशेष महाधिवेशन गर्नुपर्ने विषयले प्राथमिकता पाएको छ । भदौ २३ पछि पार्टी वैधानिकता समाप्त हुने भन्दै अधिकांश जिल्ला सभापतिहरुले विशेष महाधिवेशनमा जोड दिएका हुन् ।

भदौ १६–१९ सम्म तोकिएको मितिमा महाधिवेशन नहुने भन्दै कांग्रेसभित्र विभिन्न विकल्पमा नेताहरुबीच छलफल भइरहेको छ । यसबीच केन्द्रीय सदस्य थापाले सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउनुपर्ने बताएका हुन् ।