१२ बैशाख २०८१, बुधबार

तुइनदेखि सीमा अतिक्रमणका समस्या राष्ट्रियसभाको शून्य समयमा उठान

Pro Ktm Rastyasava Baithak1 1024x598 1

राष्ट्रियसभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सदस्यहरूले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गर्नुभयो ।

शून्य समयमा नेकपा एमालेका सांसद दिपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब उक्त भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक रूपमा वार्ता गर्न सरकारसँग माग गर्नुभयो ।

यस्तै नेकपा एमालेका सांसद नन्दाले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उहाँले सरकारसँग माग गर्नुभयो ।

यसै गरी नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हक अधिकारबाट वञ्चित भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हक अधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।