१२ बैशाख २०८१, बुधबार

विद्यालयले एसईई परीक्षामा गरेको मूल्याङ्कनप्रति राष्ट्रिय परीक्षा बोर्डको असन्तुष्टि

national examination board

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले एसईई परीक्षामा विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनप्रति असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताउनुभयो । विद्यार्थीमा पढे पनि पास र नपढे पनि पास भन्ने मनोभावना विकास हुने र यसले भविष्यमा देशलाई ठूलो क्षति हुने उहाँले बताउनुभयो ।

आन्तरिक मूल्यांकनबाट निकालिने नतिजाले अहिले बोर्डलाई अपजस आएको बताउनुभयो । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने उहाँले बताउनुभयो ।

विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट पठाएको प्राताङ्कका आधारमा बोर्डले हिजो एसईईको परीक्षा सार्वजनिक गरेको थियो । यस्तै बोर्डका अध्यक्ष पौडेलले कक्षा १२ को परीक्षा गर्न बोर्ड तयार भए पनि सरकारको निर्देशनका कारण परीक्षा हुन नसकेको बताउनुभयो ।

देशैभरि परीक्षा संचालन हुने केन्दहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा संचालन गर्न सकिने उहाँले बताउनुभयो । जेठमा स्थगित भएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने तयारी थियो ।

तर स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै तत्काल परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले परीक्षा नै स्थगित गरेको छ । पोहोर कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो ।