१६ चैत्र २०८०, शुक्रबार

महाकाली नदीमा अझै छन्, ११ वटा तुईन

tuin nepal 1
फाइल फोटो

सरकारले तुईन मुक्त घोषणा गरेको चार वर्षपछि पनि दार्चुलामा ११ वटा तुईन सञ्चालनमा छन् । महाकाली नदीमा रहेका ती सबै तुईन व्यास गाउँपालिका अन्तर्गत पर्छन ।

स्थानीय तुईन सञ्चालकले पश्चिम टुडेलाई दिएको जानकारी अनुसार बासिन्दाका दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर ४ मा तीन वटा तुईन छन् । वडा नम्बर ४ अन्तर्गत बर्तीघाट, मलघट्ट, दोकटमा तुईन सञ्चालनमा छ ।

वडा नम्बर २ अन्तर्गत मालघाट, मल्लो दुम्लिङ, तल्लो दुम्लिङ र सग्नारीमा समेत गरी चार वटा तुईन सञ्चालनमा छन् ।वडा नम्बर ५ अन्तर्गत स्याकु र नाजीमा तुईन सञ्चालनमा रहेको ती तुईन सञ्चालकले बताए ।

मालघाटमा जय सिंह धामी तुईनबाट महाकाली नदीमा बेपत्ता भएपछि मालघाट सहितका अधिकांश तुईन दिउसो त बन्द हुन्छन । तर अचेल अधिकांश तुईन साँझ परेपछि वा रातिको समयमा सञ्चालनमा ल्याउने गरेको तुईन सञ्चालकले बताए ।तुईनबाट खसेर पनि मर्ने, ती तुईन सञ्चालकले भने, तुईन नतरे भोकभोकै मर्ने । भोकै मर्नु भन्दा खाएर मर्नु बेश । यही सोचेर रात बिरात तुईनबाट काली पारी तारिदिनु पर्यो भनेर मान्छे आउछन् ।

जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएपछि पनि तुईन सञ्चालनमा छन् । यस सम्बन्धमा प्रहरी प्रशासनलाई जानकारी पनि छ । दुम्लिङबाट पैदल सदरमुकाम खलंगा पुग्न तीन दिन लाग्छ ।

त्यहाँबाट दैनिक उपभोग्य वस्तु तथा अत्यावशकीय सामग्री खरीद गरेर फर्किदा समय धेरै लाग्छ । अर्कोतिर सामानको मूल्य चर्को पर्छ । त्यही कारण यहाँका बासिन्दा तुईनमा महाकाली पार गरेर सीमावर्ती भारतीय बजारमा सामान खरीद गर्न जान बाध्य छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले महाकाली नदीमा सचालनमा रहेका तुईनहरुको संख्या जानकारी नभएको बताईन । महाकाली नदी तर्ने अन्य कुनै बिकल्प नहुदा तुईनहरु अझै सञ्चालनमा छन्,उनले भनिन् कति वटा सञ्चालनमा छन्, ठ्याक्कै थाह भएन ।