१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री शुक्रबारसम्म डिस्चार्ज हुने, पुरै सक्रिय हुन ६ महिनासम्म लाग्छ

oli tu kidney

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला दोस्रो पटक प्रत्यारोपण भएको आज (मंगलबार) एक साता भएको छ। गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको छ। प्रधानमन्त्री ओली पुरै सक्रिय हुने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।

भाञ्‍जी समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओली एक सातादेखि अस्पतालको आईसीयूमै छन् । एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले बताएकी छन् ।

‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, प्रधानमन्त्रीले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छु, उनले भनिन् , तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताइन् ।

‘प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ’ उनले भनिन् ।

प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौ, उनले भनिन्, अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ। डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।

‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले मंगलबार पहिलो पटक संयुक्तरुपमा आफ्ना कुरा राखेका हुन्। यसअघि केहीबाहेक चिकित्सक यसबारेमा बोलेका थिएनन्।

उपचारमा संलग्‍न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण छ। डा. सिंहले प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी दिइन्।