२५ बैशाख २०८२, बिहीबार

एकताका लागि ओेलीलाई नेपाल समूहको एक साताको अल्टिमेटम, माफी माग्नुपर्ने शर्त

nepal madhav marriot scaled
फाइल फोटो

नेकपा एमालेको माधव नेपाल समूहले तत्काल नयाँ पार्टी पनि नखोल्ने र सरकारमा पनि नजाने भएको छ ।

शुक्रबार सकिएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नयाँ पार्टी खोल्ने र सरकारमा सहभागी हुने कुरा गलत हुने धारणा राखेका थिए । उनीहरुले पार्टी एकतामै जोड दिएका थिए । यद्यपी यी दुवै विषयमा केन्द्रीय सदस्यहरुबीच फरक फरक धारणा आएका थिए ।

बैठकमा नयाँ पार्टी बनाएर तत्काल सरकारमा जाने विषयमा पनि सदस्यहरुले धारणा राखेका थिए । बैठकमा केही सदस्यहरुले पार्टी एकता गर्नका लागि अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने धारणा पनि राखेका थिए ।

बिहिबार र शुक्रबारको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए । केही सदस्यहरुले ओलीले माफी नमागेसम्म एकतामा जान नहुने अडान पनि राखेका थिए ।

ओलीलाई एमाले अध्यक्ष नै स्वीकारेर निर्वाचनमा जान नसकिने पनि उनीहरुको भनाइ थियो । एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता गर्न नहुने तर्क पनि बैठकमा उठेको थियो ।