१५ चैत्र २०८०, बिहीबार

महाकाली घटनाको छानबिन समिति हेलिकप्टरमार्फत व्यास प्रस्थान

cvf 768x508 1

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित छानबिन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसतर्फ प्रस्थान गरेको हो ।

समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानबिन समिति गत मङ्गलवार देखी यहाँ रहेको छ ।

यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो ।

छानबिन समितिमा सहसचिव गौतम सहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

अहिलेसम्म धामीको शव भेटिएको छैन । आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्त्येष्टि गरिसकेका छन् । पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ ।