६ बैशाख २०८१, बिहीबार

केही विषयमा सहमति भए पनि विश्वासिलो वातावरण नबनेसम्म पार्टी एकता हुदैन: नेपाल

kp oli madhav nepal
फाइल फोटो

नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुले पार्टी एकतामा जोड दिएका छन् । बिहिबार काठमाडौंमा भएको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टीलाई विभाजनमा लैजान नहुने सुझाव दिएका थिए ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको बताएका थिए ।

यद्यपी विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने नेपालको भनाइ थियो । नेपालको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरे ।

बैठकमा पार्टी भित्रको विवाद समाधान कार्यदलका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा केन्द्रीय सदस्यहरूलाई विस्तृत रुपमा जानकारी गराएका थिए ।रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए ।

केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछि मात्र सदस्यता नवीकरण लगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी पनि गराएका थिए ।

बैठकमा डा.विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाल लगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएका थिए ।

माधव नेपालपक्षीय एमाले केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठकमा ८० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको नेपाल पक्षले जनाएको छ ।