१५ चैत्र २०८०, बिहीबार

‘केपी ओली विश्वास गर्न लायक पात्र होइनन्’: नेता नेपाल

kp oli madhav nepal
फाइल फोटो

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रिय कमिटी बैठक राख्यो । आजको बैठकमा उपस्थित ७३ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो । पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन् ।

बैठक भोलि बिहान साढे ११ बजे पुनः बस्ने भएको छ । आजको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै बरिष्ठ नेता माधव नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको बताए । तर उनले आफू पक्षधर नेताहरुलाई संयमित अभिव्यक्ति दिन पनि भने ।

बैठकमा नेपालले सरकारमा जाने वा नजाने बारेमा स्पष्ट धारणा भने राखेनन । नेपालको भनाइ उदृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने- ‘एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने, अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं ।, हामीले सरकारमा जानका लागि यो गठबन्धन बनाएको होइन । संविधान,लोकतन्त्र र संसद जोगाउन हो ।’

नेता नेपालले यति हुँदा पनि सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताएका थिए ।

नेता नेपालले पाँच दलीय सत्ता गठबन्धन जोगाउनु आफ्नो दायित्व रहेको पनि बताए । संविधान, लोकतन्त्र र संसद जोगाउन गठबन्धन बनाइएको भन्दै गठबन्धन जोगाउने आफ्नो दायित्व रहेको बताएका हुन् ।

नेता नेपालले भने– ‘सरकारमा जानका लागि गठबन्धन बनाइएको होइन । संविधान, लोकतन्त्र र संसद जोगाउन गठबन्धन बनाइएको हो । त्यसैले गठबन्धन जोगाउने जिम्मा पनि हाम्रै हो । गठबन्धन जोगाउन हामीले भूमिका खेल्नुपर्छ ।’