१६ चैत्र २०८०, शुक्रबार

ओलीले स्पेस दिँदैनन्, ओलीसँग मिसिनु राजनीतिक आत्महत्या, गठबन्धन जोगाउनु हाम्रो दायित्व हो

madhav nepal
फाइल फोटो

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । यद्यपी आफू पक्षधर नेताहरुलाई उनले संयमित अभिव्यक्ति दिन आग्रह गरेका छन् ।

बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । 

आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले सरकारमा जाने वा नजाने बारेमा स्पष्ट केही बोलेनन् । नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । 

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘त्यसकारण सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु ।’ उनले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे । ‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले माधव नेपाल पार्टी एकताको पक्षमा रहेको भन्दै सरकारमा नजाने कुरा स्पष्टै रहेको दावी गरे ।

नेपालको भनाइ उदृत गर्दै मानन्धरले भने : एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने,अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं । तर हामीले सरकारमा जानका लागि यो गठबन्धन बनाएको होइन । संविधान,लोकतन्त्र र संसद जोगाउन हो ।

नेता नेपालले यति हुँदा पनि सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताएका थिए । नेपालले पार्टी एकताका लागि आफू इमान्दार रहेको समेत प्रष्ट पारेका छन् ।

बैठकलाई माधव नेपालले सम्बोधन गरेपछि पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे भीम रावलले ब्रिफिङ गरेका थिए । 

आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । 

उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए ।