१६ चैत्र २०८०, शुक्रबार

प्रदेश २ मा आपराधिक घटनामा अत्याधिक बृद्धि

Nepal police

प्रदेश २ मा पछिल्लो वर्षको तुलनामा ४ दशमलब ४७ प्रतिशतले आपराधिक घटनामा बद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा ७ हजार २ सय १ अपराधका घटना भएका छन् । २ नं. प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको अपराध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८ सय ९३ आपराधिक घटना भएका थिए ।

आर्थिक वर्ष २०७७/७८ आर्थिक वर्षमा भने ४ दशमलब ४७ प्रतिशतले बृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ मा सामाजिक अपराधका सर्वाधिक १ हजार ८ सय ३२ र संगठित तथा आर्थिक अपराधका १ हजार ५ सय ४३ घटना भएका छन् । यस्तै महिला हिंसा तथा बलात्कार अपराधका ६ सय १७, आत्महत्याका ९ सय ५९, भवितब्य ज्यानका ४ सय ६७, ज्यान मार्ने उद्योगका ३ सय १० र कर्तव्य ज्यानका ९३ घटना भएका छन् । आर्थिक वर्ष २०७६/७७मा सवारी दुर्घटनामा ४ सय ६७ जनाको ज्यान गएकोमा आथिंक वर्ष २०७७/७८ मा बढेर ५ सय ३३ जनाको ज्यान गएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा लागु औषध मुद्दा, दुव्र्यसनी र कारोवारी पक्राउको संख्या पनि बृद्धि भएको छ । आ.ब. २०७६/७७ मा लागु औषधका ६ सय ३५ मुद्दा दर्ता भई ९ सय ६२ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो संख्या बढ्दै ७ सय १४ मुद्दा दर्ता र ९ सय ९९ जना पक्राउ परेका छन् ।

आपराधिक घटनामा बृद्धि देखिए पनि फरार प्रतिवादी पक्राउ र चोरी निकासी पैठारीमा पक्राउ र राजश्व असुली भने अत्यन्त उत्साहपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न तहका अदालतबाट कैद तथा जरिवाना तोकिईसकेपछि भुक्तान नगरि फरार रहँदै आएका २ हजार ४ सय ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । २०७६/७७ मा भने १ हजार ५ सय ३० जना फरार अभियुक्त र प्रतिवादी पक्राउ परेका थिए ।

चोरी निकासी पैठारीतर्फ आर्थिक वर्ष २०७६/७७ मा ४ सय १४ जनालाई पक्राउ तथा ३४ करोड ७९ लाख ३५ हजार ३ सय ८५ रुँपैयाको अवैध मालसमान जफ्त गरिएकोमा आर्थिक वर्ष २०७७/७८ मा सोही अपराधमा संलग्न ४ सय २७ जनालाई पक्राउ गरि ५८ करोड ८२ लाख ५१ हजार ९ सय २६ रुँपैया बराबरको अवैध मालसान जफ्त गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ ।

अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि प्रदेश २ का ८ वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमका साथै आवश्यक सुरक्षा रणनीति बनाउँदै अद्दि बढिरहेको र यस कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अपराध तथ्याङ्कमा उल्लेख छ ।