११ बैशाख २०८१, मंगलवार

चितवनमा वडा कार्यालय उद्घाटनका विषयमा मेयर र वडाध्यक्षबीच विवाद

rpti 9 1

वडा कार्यालयको भवन उद्घाटनका विषयलाई लिएर चितवनको राप्ती नगरपालिका र वडा नम्बर ९ बीच विवाद देखिएको छ ।
राप्ती नगरपालिका–९ को नवनिर्मित वडा कार्यालयको नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य एवंम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरे ।

उद्घाटनका अवसरमा राप्ती नगरपालिका प्रमुख प्रभा बरालसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरु कसैको उपस्थिति देखिएन । कार्यक्रमका लागि नगर प्रमुख, उपप्रमुख , वडाध्यक्षहरु सबैलाई निमन्त्रण भने गरिएको थियो ।

उद्घाटनका विषयमा आफूसँग कुनै समन्वय नभएको राप्ती नगरपालिका प्रमुख बरालले बताइन् । नगर उपप्रमुख इमानसिंह लामा भने हाल काठमाडौमा छन् । मंगलबार उद्घाटनका विषयमा छलफलका लागि नगरपालिका पुगेका वडाध्यक्ष देवेन्द्र लामा र नगर प्रमुखबीच चर्काचर्की भएको छ ।

नगरपालिकाबाट विनियोजित ६० लाख ११ हजार ७५५ रुपैयाँबाट भवन निर्माण भएको हो । नगरपालिकाको लगानीमा निर्माणमा भएको भवन उद्घाटन नगर प्रमुख, आफ्नै क्षेत्रका प्रदेश सांसद तथा संघीय सांसदले गराउँदा उपयुक्त हुने नगर प्रमुखको अडान थियो । तर, त्यसलाई वडाध्यक्षले स्वीकार गरेनन् ।

बुधबारको उद्घाटन कार्यक्रमको समापनका अवसरमा वडाध्यक्ष देवेन्द्र लामाले राजनीति गर्ने मान्छे साना तिना कुरामा अल्झिन नहुने भन्दै प्रतिनिधि सभाका सदस्य उपस्थित कार्यक्रममा उपस्थित हुँदा उल्टो नगर प्रमुखको शोभा बढ्ने बताएका थिए । प्रमुख अतिथि छनौट वडा समितिको निर्णय अनुसार भएको वडाध्यक्ष लामाले स्पष्ट पारे ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, कांग्रेस निकटका कार्यकर्ताहरुको उपस्थिति, स्टेजमा आसनग्रहण गर्ने अतिथिदेखि सहभागीहरु सबैजसो कांग्रेस निकट भएकाले सो उद्घाटन कार्यक्रम पार्टीको जस्तो देखिन्थ्यो ।

वडा कार्यालय भवन निर्माणमा सबै बजेट नगरपालिकाबाट विनियोजन भएको थियो । उद्घाटनका विषयमा बुझ्न खोज्दा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले यो राजनीतिक विषय भएकाले आफूले केही नबोल्ने बताए । के कारणले नगर प्रमुखलगायत अन्य जनप्रतिनिधि जानु भएन मलाइ थाहा भएन भुजेलले भने । आफू भने कार्यालयको कामको व्यवस्ताले गर्दा जान नपाएको उनले बताए ।

भुजेलका अनुसार भवन निर्माणमा खर्च भएको सबेै रकम नगरपालिकाले विनियोजन गरेको हो । विसं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्तीमा वडा नम्बर ९ र वडा नम्बर १२ मा मात्रै कांग्रेसले निर्वाचन जितेको थियो । अन्य ११ वटा वडामा नेकपा एमालेले जितेको थियो ।