४ बैशाख २०८१, मंगलवार

भोलिसम्मलाई स्थगित नेपाल पक्षीय एमाले केन्द्रीय सदस्यहरुको बैठक

nepal madhav marriot scaled
फाइल फोटो

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला रोकिएको छ । बैठक आज विहान ११ बजेका लागि आह्वान गरिएको थियो ।

बुधबार बिहान ११ बजे बोलाइएको बैठक बिहीबारका लागि सोही समयमा सारिएको केन्द्रीय सदस्य कल्याणी कुमारी खड्काले जानकारी दिइन् ।

केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको जानकारी दिइन् ।

पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच बनाएका हुन्।

नेपालले सरकारमा सहभागिता, नयाँ पार्टी निर्माणलगायतका विषयमा छलफल गर्न भेला बोलाएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमै मतभेद छ । विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन्।