१२ बैशाख २०८१, बुधबार

फेरि स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन थापा

gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ’, थापाले भने, ‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ ।’ उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २-३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले भने, ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’

सदस्यता विवाद सुल्झाउन जिम्मेवारी पाएका पदाधिकारीले समयमै सम्पन्न नगर्दा कार्यतालिका प्रभावित बनेको थापाको आरोप छ । भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा सरकार डराउन नहुने थापाको भनाइ छ । ‘नागरिकको जीवन रक्षा सरकारको आधारभूत जिम्मेवारी हो, अनुसन्धान गरेर सरकारले पुष्टि गर्नुपर्छ’, नेता थापाले भने, ‘सरकार न्यायका लागि लडोस्, नडराओस् ।’

भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क छ । ‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ ।’