१५ चैत्र २०८०, बिहीबार

अन्तर्राष्ट्रिय टी ट्वान्टीमा बङ्गलादेशको अष्ट्रेलियामाथि पहिलो जित

bangladesh vs australia

अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट खेलमा बङ्गलादेशले अष्ट्रेलियालाई पहिलो पटक हराएको छ । बङ्गलादेशले अन्तर्राष्ट्रिय टी ट्वान्टीको आफ्नो पाँचौं प्रयासमा मात्रै अष्ट्रेलियामाथि २३ रनको जित हात पारेको छ । जितसँगै पाँच खेलको टी ट्वान्टी श्रृखंलामा बङ्गलादेशले १–० को अग्रता लिएको छ ।

बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया क्रिकेट टोलि मात्र १०८ रनमा समेटिन पुग्यो । उसको पारीका आठ जना ब्याट्सम्यानले दोहोरा योगफल समेत जोडन सकेन ।

ओपनर एलेक्स कैरीलाई मेहदी हसनले डक आउट गराएपछि अष्ट्रेलिया दबाबमा आएको थियो । मिशेल मार्शले ४५ रनको योगदान गरेर स्थिरता प्रदान गरेपनि अन्य कुनै पनि ब्याट्सम्यान बङ्गलादेशको बलिङ्गको सामना गर्न सकेन । र एक पछि अर्को विकेटको पतन हुँदै गयो ।

बङ्गलादेशको बलिङमा नसुम अहमदले चार ओभरमा मात्र १९ रन खर्चेर सर्बाधिक चार विकेट लिनुभयो । मुस्तफिजुर रहमान र शोरिफुल इस्लामले सामान दुई दुई तथा महेदी हसन र शकीब अल हसनले एक एक विकेट लिनुभयो ।

त्यसअघि, ढाकामा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको बङ्गलादेशले पुरै २० ओभर खेलेर सात विकेटको क्षतिमा १३१ रनको औसत योगफल तयार गर्यो । बङ्गलादेशलाई औसत योगफलसम्म पुर्याउन अलराउन्डर शकीबले मात्र ३३ बलमा ३६ रनको उत्कृष्ट पारी खेल्नुभयो । अफिफ होस्सैनले २३ तथा मोहम्मद नईमले ३० रनको योगदान दिनुभयो ।

अष्ट्रेलियाका लागि मिसेल स्टार्कले दुई तथा जोश हयाज्लऊडले तीन एवम् एडम जाम्पा र एन्ड्रयु टाइले सामान एक एक विकेट लिनुभयो । नसुम अहमद प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।