१६ चैत्र २०८०, शुक्रबार

आयोग खारेज गरेर सरकारले भूमिहिन सुकुम्बासीको जीवनमा लात हान्योः देवी ज्ञवाली

Devi Gyawali

एमाले नेता देवी ज्ञवालीले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर लाखौं भूमिहिन र सुकुम्बासीको जीवनमा लात हानेको बताउनुभएको छ ।

सरकारले आयोग खारेज गरेपछि प्रतिक्रिया दिँदै उहाँले सरकारले आयोग नै खारेज गरेर अपराध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई हटाएको भए ठूलो कुरा मान्ने थिएन, तर आयोगनै खारेज गरेर यो सरकार भूमिहिन र सुकुम्बासी विरोधी भएको प्रष्ट भएको छ ।’

‘राज्यले मलाई काम गर्न पठाएको थियो । मैले खुरुखुरु काम गरेको थिए । धेरै दुःख र मेहेनत गरेका थियौं । सबै खेर गयो ।’ उहाँले भन्नुभयो । करिब १२ लाख सुकुम्बासीको लागत संकलनको काम भएको थियो भन्दै ज्ञवालीले स्थानिय पालिकाहरुले धमाधम लागतको काम गरिसकेको बताउनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो । ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।