६ बैशाख २०८१, बिहीबार

सञ्चालनमा आयो खोटाङको साप्सुखोलाको पक्की पुल

pakki pul bridge

केदार मगर/रासस, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१को याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम पुल सोमबारदेखि सञ्चालनमा आएको हो ।

मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ६० लाख १० हजार ५४५ मा निर्माण गरिएको सो पुल विसं २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु दुई करोडको लागतमा ४० मिटर लामो पक्की पुल निर्माण गरिएको हो ।

ठेक्का पाएको सूर्य एण्ड सन्स प्रालिले सो पुल विसं २०७८ जेठ १७ गते निर्माण गरिसक्ने गरी विसं २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने उक्त खोलामा तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण गरिएको थियो ।

पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्रकुमार राईले बताए । “साप्सुखोलामा पक्की पुल नहुँदा दक्षिणी क्षेत्रका बासिन्दा प्राकृतिक नाकाबन्दीमा परेका थिए”, उनले भने । “लामो समयको अथक प्रयासपछि ढिलै भए पनि पुल सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई लागि आवतजावतमा सहज हुनाका साथै विकासकका लागि ढोका खुल्ला भएको छ ।”

उक्त खोलामा पुल नहुँदा वर्षात्सँगै करिब छ महिना यातायात सञ्चालन नहुँदा आवतजावत गर्न गाह्रो हुनाका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोडिएको सो पुलको बिममा तार घुसाएर तन्काउनका साथै तारमा थप भार राखेर निर्माण गरिएको हो । नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको पुल जिल्लाकै नमूना भएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद बरालले बताए ।

तराईका जिल्ला जोड्ने सडकखण्डअन्तर्गत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै तीनवटा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएका छन् । सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मिटारस्थित साप्सुखोलामा एक नं. तथा दिक्तेल र मात्तिम जोड्ने साप्सुखोलामा २ नं मोटरेबल पक्की पुल यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडकखण्डका खोलामा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रको व्यापारिक केन्द्रमा पर्ने केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने तापखोलामा भर्खरैमात्र अर्को मोटरेबल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थियो ।

मध्यपहाडी लोकमार्गबाहेक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका अधिकांश सडक मोटरेबल पक्की पुल अभावमा वर्षात् शुरु भएलगत्तै करीब छ महिना अवरुद्ध हुँदै आएको छ । सडकखण्डमा पर्ने खोलाहरुमा पक्की पुल अभावकै कारण अवरुद्ध हुँदै आएको सबै सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जिल्लास्थित जनप्रतिनिधिहरुले पहल गरिरहेका छन् ।