७ बैशाख २०८१, शुक्रबार

तुइन चुँडिएको घटना छानबिन गर्न टोली आज दार्चुला पुग्दै

darchula

महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर बेपत्ता भएको घटना छानबिन गर्न गठित टोली आज दार्चुला पुग्ने भएका छ ।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

समितिका सदस्य हिजो दार्चुलाका लागि हिँडे पनि डढेल्धुरा बसेर आज त्यसतर्फ जाँदैछन् । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री बालकृष्ण खाँणले हिजोको राष्ट्रिय सभा बैठकलाई जानकारी दिनुभएको थियो ।

समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी बेपत्ता हुँदाका तीन जना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ । अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

डीएसपी भट्टले भन्नुभयो–‘उनीहरूलाई प्रहरीले ल्याएको पनि होइन, अनुसन्धानमा सहयोग गर्न आएका हुन् ।’

दार्चुला जिल्ला प्रशासन कार्यालयलेसमेत घटनाबारे तीन जनाको एक टोली स्थलगत अध्ययनका लागि पठाउनुका साथै भारतीय पक्षसँग समेत वास्तविकताबारे जानकारी दिनका लागि पत्राचार गरेको थियो । जवाफमा पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले यो घटनामा एसएसबीका जवानको कुनै संलग्नता नरहेको दावी गरिसक्नुभएको छ ।