१६ चैत्र २०८०, शुक्रबार

मन्त्रिपरिषद् विस्तारमा सकस, आज पनि कार्यदलको बैठक बस्दै

gathbandhan
फाइल फोटो

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलाई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

सरकारलाई सहयोग हुने गरी काम गर्न सत्तारुढ प्रमुख तीन दलले ७ सदस्यीय कार्यदल बनाएका थिए । केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरबहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनमा समझदारी नहुँदा सरकारले पूर्णता पाएको छैन ।

सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् ।

यसअघि सत्ता गठबन्धनले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय थियो ।

हिजो साँझ कार्यदल र गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकले न्यूनतम साझा कार्यक्रम तय गरेपछि मन्त्रिपरिषद् विस्तारको समझदारी गरेको हो।

साझा कार्यक्रम तय, मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा नियमित छलफल भइरहे पनि गठबन्धनले निष्कर्ष निकाल्न सकेको छैन। न्यूनतम साझा कार्यक्रमबारे कार्यदलस्तरमा छलफल चलिरहेको छ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले सरकार सञ्चालनबारे छलफल हुनुकासाथै कार्यदलले गरेका कामको ब्रिफिङ भएको जानकारी दिनुभयो । गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै ठोस सहमति भएको छैन।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता पूर्णबहादुर खड्काको सहभागिता थियो ।

कार्यदलले आज सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ। साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, राजनीतिक नियुक्तिको मापदण्ड, संघीयता कार्यान्वयन लगायतका विषय समेटिएका बुझिएको छ।

गठबन्धन दलबीच समझदारी नबन्दा सबै पार्टीका आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्री छान्नसमेत नेताहरुलाई सकस परेको छ ।

असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । ।सरकार गठन भएको २१ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।