७ बैशाख २०८१, शुक्रबार

महाकालीमा बेपत्ता धामी भेटिएनन्, क्षतिपूर्तिको माग, परिवारकाे बिचल्ली

tiwan death

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुकालिदिएपछि महाकाली नदीमा बेपत्ता भएको भनिएका व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी अझै फेला पर्नुभएको छैन् ।

वैदेशिक रोजगारीका लागि यसअघि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका धामी गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किनुभएको थियो । शुक्रबार फेरि सपनाको भारी बोकेर विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका धामीका सारा सपना आफूसँगै महाकालीमै बिलाए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले महाकाली छेउमा निरन्तर जयसिहको खोजी गरे पनि कतै फेला नपरेपछि खोजिमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशङ्कामा कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

एसएसबीले तुइनको डोरी फुकालिदिएपछि महाकालीमा बेपत्ता भएका धामीको परिवार शोकाकुल बनेको छ । विदेश जाने सपना बुनेर घरबाट हिंडेका श्रीमान महाकालीमा बेपत्ता भएको खबर सुनेदेखि घरमा आमा र श्रीमती राजन्ती छिनछिनमा बेहोस भइरहनुभएको छ ।

छोराछोरीको पनि रुवाबासी चलेको छ । परिवारले अभिभावक गुमाएपछि डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालनपालन र शिक्षा–दीक्षाको जिम्मेवारी राजन्तीकै काँधमा आएको छ ।
आर्थिक रूपमा विपन्न परिवारका जयसिंहले सुरुमा सेनामा जागिर खाएका थिए । तर घरखर्च चलाउन मुस्किल भएको भन्दै बीचमै छाडे ।

पछि ऋण काढेर वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ पनि धेरै बस्न सकेनन । फर्किएपछि फेरि दुबई गए, त्यहाँ पनि भनेजस्तो काम नपाएपछि स्वदेश फर्किए । जयसिहका आफन्त नरेन्द्र धामीका अनुसार विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका थिएनन ।

दुबईबाट फर्केपछि केही समय काठमाडौंमै सेक्युरिटी गार्डको जागिर पनि गरेका थिए । जयसिंहले गत वैशाख–जेठमा यार्सागुम्बा सङ्कलन गरेर ३५–४० हजार आम्दानी गरेका थिए ।

सोही पैसा बोकेर जयसिह काडमाडौँ हिडेका थिए । गाउँको उब्जनीले तीन महिना पनि खान पुग्दैन । कहिले कता कहिले कता रोजगारी गरेर परिवार धानिरहेको थियो,’ जयसिहका दाई हरकसिंह धामीले भन्नुभयो, घरको कमाउने मान्छे नै बेपत्ता भएपछि परिवार झनै समस्यामा परेको छ ।
जयसिहकी श्रीमती राजन्तीको जीवनमा ठूलो बज्रपात आइपरेको छ, जाने भन्दा बाँचेकाको पालनपोषण, शिक्षादीक्षा कसरी गर्ने भन्ने ठूलो चिन्ता छ । राजन्तीलाई श्रीमान महाकालीमा बगेपछि संसार सुन्य भएको छ, एकछिन होस आउँछ, एकछिनमा फेरि बेहोस हुन्छिन । घरमा सान्त्वना दिन आउने छिमेकीको भिड छ, तर को आए, को गए पत्तो पाउनुहुन्न । टोलाएर बस्नुहुन्छ । आँखाबाट आँसु भेल बगेको–बग्यै छन् ।

स्थानीय र वडाध्यक्षहरु भन्छन्, तुइनको डोरी एसएसबीले नै फुकालेको हो
व्यास गाउँपालिका वडा नम्बर २, ३ र ५ का वडा अध्यक्ष लगायत स्थानीयले आइतबार दार्चुला सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी भारतीय एसएसबीले नै तुइनको डोरी फुकालेका कारण जयसिह धामी महाकालीमा बेपत्ता भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै व्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्रसिह धामीले भन्नुभयो, एसएसबीले गर्दा नै जयसिहको ज्यान गएको हो । घटना घटेपछि म पनि घटनास्थलमा पुगेको थिए । त्यसतिबेला एसएसबी मात्रै भेटे, जयसिंहका आफन्तहरुले त्यसअघि नै भारतकै पागला प्रहरी चौकीमा तुइन काट्ने एसएसबी विरुद्ध निवेदन पेस गरिसकेका थिए ।

स्थानीयले दर्ता गरेको निवेदनको प्रतिलिपि माग गरे पनि आफूलाई नदिएको उहाँले बताउनुभयो । आफुले घटनास्थलबाट फर्किने बेला नै तुइन काट्ने दुबै जना एसएसबीलाई अन्यत्रै पठाइएको जानकारी पाएको वडाध्यक्ष धामीको भनाइ छ ।

स्थानीयले आफ्नै आखाँले देखेको कुरा झुटो हुन सक्दैन, एसएसबीले तुइन फुकालेकै हो, उहाँले भन्नुभयो, एसएसबीकै कारण नेपाली नागरिकको ज्यान गएकोले दोषीलाई कडा कारवाही हुनुपर्छ ।

ज्यानमारा एसएसबीलाई कडा कारवाही गरेर पीडित परिवारलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहातको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

वडा नम्बर २ का वडाअध्यक्ष एबं व्यास गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले जयसिह धामीको हत्या नै भएकोले घटनामा संलग्न एसएसबीलाई कारवाही हुनुपर्ने बताउनुभयो । पीडित परिवारलाई गाउँपालिकाको तर्फबाट केहि दिन भित्रै राहात दिने बताउँदै उहाँले प्रदेश र संघीय सरकारले समेत राहातको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

व्यास गाउँपालिकाले समेत विज्ञप्ति सार्वजनिक गरेर भारतीय सुरक्षा निकायका जवानहरुबाट भएको हत्याको खबरले गाउँपालिका परिवार स्तब्ध, दुःखी एबं आक्रोशित भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, मानव अधिकारका सम्पूर्ण मूल्य मान्यताहरुको उल्लङघन हुने यस्ता अमानवीय र जघन्य अपराधको घोर निन्दा र भत्सना गर्दछौँ ।

यथासिघ्र बेपत्ताको खोजि गरि पीडित परिवारलाई उचित क्षतिपूर्र्ति, मृतकका बालबालिकाको शिक्षाआर्जन र पालनपोषण सुनिश्चित गर्न, घटनाको वास्तविक सार्वजनिक गर्न र आफ्ना नागरिकलाई न्याय दिलाउन उच्चस्तरीय कूटनीतिक पहलमार्फत घटनामा संलग्न भारतीय अधिकारीलाई कारवाहीको पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौँ ।

तुइन काटेर निर्दोष व्याक्तिको हत्या गर्नु अन्तराष्ट्रिय फौजदारी अपराध भएको व्यास गाउँपालिकाको ठहर छ ।

विगत लामो समयदेखि तुइनमार्फत आवतजावत गर्दा हुँदै आएका मानवीय क्षति र भारतमाथिको परनिर्भरता अन्त्य गर्न दार्चुला तिङ्कर सडक निर्माणकार्य र ठेक्का भइसकेका मलघट्टे र मालघाटका झोलुङ्गे पुलहरु यथाशीघ्र सम्पन्न गर्न व्यास गाउँपालिकाले सरकारसंग माग गरेको छ ।

शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको बताएका थिए ।

सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर व्यासवासी धारचुला पुग्छन् । धारचुलाबाट झोलुगें पुल तरेर उनीहरु खलङ्गा आउने गरेका छन् । तर, पछिल्लो समय एसएसबीले बेलाबेलामा तुइन काटेर दुःख दिने गरेको छ ।

शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका बेला डोरी फुकालिदिए ।

जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । रंकोलीले भन्नुभयो, हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने बेला नदीमा खसे ।

एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ, उहाँले थप्नुभयो, नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए । नदीमा पानीको मात्रा बढी भएकोले जयसिहलाई हामीले बचाउन सकेनौँ ।

अलमलमा अनुसन्धान

तुइन तर्ने क्रममा जयसिह धामी महाकालीमा बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ ।

एसएसबीले तुइन काटेपछि जयसिह महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले भने भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको बताइरहेका छन् ।

प्रत्यक्षदर्शीहरुले एसएसबीले नै तुइन फुकालेको बताइरहँदा प्रहरी प्रशासनले भने उक्त कुरा पुष्टि हुने कुनै ठोस प्रमाण फेला नपरेको बताइरहेका छन् ।

शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताउनुभएको छ । स्वरुपको सरुवा समेत भइसकेको छ ।

स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन दिएका छन् । घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ । टोलीमा नेपाल प्रहरी र अनुसन्धान प्रहरी पनि सहभागी छन् ।

आइतबार घटनास्थल हेरिएको र स्थानीयसँग सोधपुछको काम गरिएको टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताउनुभयो । प्रत्यक्षदर्शीलाई सदरमुकाम आउन भनिएको छ । सोमबार उनीहरू आउनेछन्, उहाँले भन्नुभयो ।

प्रत्यक्षदर्शीले जे बयान दिन्छन्, त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढ्छ, उनीहरूले भनेपछि कुरा छर्लंगै होला, एकजना प्रहरी अधिकृतले भन्नुभयो । घटना हुनुअघि तुइन तरेर पारि भारत पुगेका चार जनाको बयान प्रहरीले लिइसेकेको छ । उनीहरूले एसएसबीका दुई जना जवान तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन् ।

तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार थियो । त्यो तार अनुसन्धानका लागि गएको टोलीले फेला पारेको छैन ।

घटनाको राष्ट्रिय रुपमै चर्चा भएपछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति समेत गठन गरेको छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज काठमाडौबाट दार्चुला प्रस्थान गरेको छ ।

छानविन समितिको सदस्यसमेत रहनुभएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भन्नुभयो, काठमाडौंको टोली सोमबार धनगढी बसेर मंगलबार दार्चुला आउँछ, त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ ।

सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो । छानविन समिति संयोजक गौतम यसअघि दार्चुलाको प्रमुख जिल्ला अधिकारी समेत भइसक्नुभएको छ ।

सडक र पुल नहुँदा सास्ती

तुइन भएकै ठाउँमा झोलुंगे पुल बनाउन तीन वर्षअघि ठेक्का लागेको छ । तर, अहिलेसम्म जग हाल्ने काम मात्रै भएको छ ।

पुल बनाउने भनेर जग हाल्ने काम मात्रै भयो, बाँकी काम अघि बढेन, मालका तुइन सञ्चालक कल्याणसिंह धामीले भन्नुभयो, यो ठाउँमा पुल बनेको भए जयसिंहले अकालमै ज्यान गुमाउनुपर्ने थिएन । मालगाउँबाट पैदल हिँडेर सदरमुकाम पुग्न घोरेटो बाटो पनि राम्रो छैन । गाउँबाट खलंगा पुग्न पूरै एक दिन लाग्छ । तर, महाकालीमा तुइन तरेर भारततिरबाट गाडीमा जाँदा एक घन्टामै सदरमुकाम पुगिन्छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट व्याँसको तिङ्कर जोड्ने गरी १३ वर्षअघि महाकाली लोकमार्ग निर्माण सुरु भएको थियो । तर, यो सडक अझै व्याँस गाउँपालिका–२ मालगाउँसम्म पुगेको छैन । हालसम्म ४३ किलोमिटर सडकको ट्रयाक खुलाइएको छ ।

सुनसेरादेखि माल जोड्ने क्षेत्रमा नौ वर्षयता चार किमी मात्र सडक निर्माण भएको छ । महाकाली नदीमाथि तुइन विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तीघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ ।

व्याँस गाउँपालिका–२ को माल तथा ३ र ४ को बर्तीघाटमा झोलुंगे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । यी दुवै ठाउँमा खम्पाचे–रुविना जेभी काठमाडौंले झोलुंगे पुल निर्माणका लागि कुल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

यस्तै, बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुंगे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कुल दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि समयमै निर्माण समाग्री नपाउदा पुल निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी धनबहादुर कुवँरले बताउनुभयो ।

छिटो पुल निर्माण गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको भनाइ छ । आफु जिल्लामा आउने बित्तिकै कोरोनामा केन्द्रित हुनुपर्यो, प्रजिअ जोशीले भन्नुभयो, जेठ महिनामा निर्माण व्यवसायीलाई मालघाट पुल निर्माणमा भएको ढिलाइबारे सोधेर छिटो काम गर्न भनेको छु ।

पुल नहुँदा अहिले व्यासवासी ज्यानको बाजी लगाएर आवतजावत गर्नुका साथै निर्माण, खाद्यान्न र व्यापारिक सामग्री ढुवानी गर्न बाध्य छन् ।