७ बैशाख २०८१, शुक्रबार

चितवनमा कोरोना संक्रमण व्यापक फैलियो, आज एकैदिन २२९ जना संक्रमित थपिए

Corona Dischargde

चितवनमा आज एकैदिन २२९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यो तथ्यांक विगत दुई महिनाको दैनिक थपिने संक्रमितको संख्या मध्ये सर्वाधिक धेरै हो । प्राय गरेर दैनिक संक्रमण दर २०० को हाराहारीमा नै हुने गर्दथ्यो ।

 कोरोना संक्रमणबाट आज दुई जनाको निधन भएको छ । स्वास्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा चितवनका एक जना र पुरानो मेडिकल कलेजमा बाराका एक जनाको निधन भएको हो ।

चितवनमा दैनिक कोरोना संक्रमण दर २०० ले बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको छ । विभिन्न अस्पतालमा २१२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ८० जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ८४ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १४३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३९ जना, राप्ती नगरपालिकामा १२ जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।

आज चितवनमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३३५ जना पुगेको छ । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या दुई हजार १९२ पुगेको छ ।

जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ६६ जना, अस्पतालमा १२१ जना र सार्वजनिक आइसोलेसन केन्द्रमा पाँच जना रहेका छन् ।