१६ चैत्र २०८०, शुक्रबार

डुंगा दुर्घटना: शिशुलाई खोप लगाउन हिँडेकी आमाको निधन, तीनको अवस्था अझै अज्ञात

dunga durghatana

कर्णाली नदीमा आज भएको डुङ्गा दुर्घटनामा परी एक जनाको निधन भएको छ । दुर्घटनामा परी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको निधन भएको हो । उनी गम्भीर घाइते थिइन् । उनको २४ दिनको शिशुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिएको थियो । मध्यान्हतिर १० जना मान्छे सवार काठको डुङ्गा रागाँ मलेखा भन्ने स्थानमा कर्णाली नदीमा पल्टेको थियो ।

दुर्घटनामा परी तीन जना बेपत्ता भएका छन् । भने, दुई जना घाइते भएका थिए । घाइतेमध्ये धनसराको मृत्यु भएको र उनकै एक महिने छोरा कर्ण सलामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जना भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा परी मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको र अवस्था अझै अज्ञात रहेको प्रवक्ता विष्टले बताउनुभयो ।

सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा पल्टेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोहन्याल गाउँपालिकामै कर्णाली नदीमा केही दिन अगाडि जिप खसेको थियो । सो दुर्घटनामा दुई जना बेपत्ता भएका छन् ।