१६ चैत्र २०८०, शुक्रबार

नेपालबाट सिंगापुर हुँदै अस्ट्रेलिया पुगेका नेपाली युवालाई कोरोना संक्रमण

coronavirus

नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेका एकजना नेपाली युवकलाई कोरोना संक्रमण भएको छ।

अस्ट्रेलियाको तास्मानीया राज्यको होर्बाटस्थित होटलमा कार्यरत ती नेपाली युवकलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण भेटिएको हो।

उनी करिब दुई साताअघि नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका थिए । करिब २० वर्ष उमेर भएका ती विद्यार्थीलाई हाल आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

ताज्मेनियाको होर्वट ग्रान्ड चान्सलर होटलमा काम गर्दै आएका उनी गत फागुन १४ मा नेपालबाट सिंगापुर, सिड्नी ट्रान्जिट छिचोलेर आफू काम गर्दै आएको होबार्टमा पुगेका थिए। अस्ट्रेलियन सञ्चारमाध्यमले जनाए अनुसार जहाजमै यात्राका क्रममा उनलाई रुघाखोकीले च्यापेको थियो। तर जहाजमै बिरामी भएका उनले स्वास्थ्य जाँच नगरी आफू कार्यरत होटलमा पुगेर काम थालेका थिए।

कोरोना संक्रमित उनले आफू पढ्ने कलेजमा पनि पुगेको खुलेको छ। तास्मानियाका सार्वजनिक स्वास्थ्य निर्देशक मार्क भेचले पत्रकार सम्मेलन यस कुराको जानकारी दिएका हु्न। ती नेपाली युवकले नेपालबाट अस्ट्रेलिया फर्किएपछि होबार्टको ग्रान्ड चान्सलर होटलमा केही दिन काम गरेको खुलेको छ। कामका क्रममा उनी होटलका कयौँ कर्मचारीसँग नजिक थिए। त्यसैले उनीहरुलाई पनि केही समय अलग्गै बस्न भनिएको छ।

जहाजमै रुघाखोकीले च्यापेका उनी होटलमा काम गरेपछि झन् समस्यामा परेपछि अस्पताल पुगेका थिए। उनी नेपालबाट फर्किएको नौ दिनपछि स्वास्थ्य जाँचका लागि रोयल होर्बट अस्पताल पुगेका थिए। त्यही अस्पतालमा ती नेपाली युवकमा कोरोना भाइरस पोजेटिटिभ देखिएको थियो।

उनमा कोरोना देखिएपछि सँगै बस्दै आएका चारजनासहित सातजनालाई अलग्गै राखिएको छ। उनीहरुलाई अबको १४ दिनसम्म छुट्टै क्वारेन्टाइनमा राखिनेछ। डाक्टर मार्क भेचललेका अनुसार तास्मानिया राज्यमा एक सय १४ जनामा कोरोना परीक्षण गरिएको छ।

अहिलेसम्म अस्ट्रेलियामा ३८ जनालाई कोरोना संक्रमण देखिएको छ। करिब ५ सय जनाको स्वास्थ्य परीक्षण भइरहेको छ। कोरोनाका कारण अहिलेसम्म अस्ट्रेलियामा तीन जनाको मृत्यु भएको छ। कोरोना विश्‍वका १०३ देशमा पुगिसकेको छ भने ३५ सयले ज्यान गुमाएका छन्।