८ बैशाख २०८१, शनिबार

स्तनपानको महत्व बुझाउन विश्व स्तनपान सप्ताह मनाइँदै

stanpan

 विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ ।

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अग्रसरतामा हरेक वर्ष अगस्त एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ ।

यस अवसरमा नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । यसवर्ष हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी भन्ने नाराका साथ स्तनपान सप्ताह मनाईँदैछ ।

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेंलो बिगौती दूध निकै पोशिलो र स्वस्थकर मानिन्छ । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन चिकित्सकको सुझाव छ ।

स्वास्थ्य सेवा विभागले देशमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउने गरेको जनाएको छ । शिशुलाई ६ महिनासम्म निरन्तर र २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुनुका साथै शिशु स्वस्थ रहने बताउने गरेका छन् ।

सरकारले नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानून बनाएपनि कार्यान्वयन हुन सकेको छैन ।

उता विश्व स्वास्थ्य संगठनले पनि आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुका कारण आमाले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको रोक तथा नियन्त्रणमा जोड दिएको छ ।

    सम्बन्धित समाचार...