१६ चैत्र २०८०, शुक्रबार

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र, घुसपैठले ठूलो समस्या

bhaktapur corona

भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बस्नुभयो । उहाँले दिउँसोसम्ममा पनि खोप लगाउन पाउनुभएन । अन्त्यमा खोप नलगाई घर फर्कनुभयो । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो ।

खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । उनीहरूमध्ये कतिपयले खोप लगाउन पाए । कतिपयले खोप नलगाई फर्के । त्यही युवकयुवतीको भीडमा रहनुभएकी लक्ष्मीजस्ता अरू धेरै लक्षित समूहका व्यक्तिले खोप लगाउन पाउनुभएन ।

यो भक्तपुरको एउटा खोप केन्द्रमा देखिएको दृश्य हो । यस्ता दृश्य धेरैजसो खोप केन्द्रमा देखिने गरेका छन् । भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार खोप केन्द्रमा भीड हुनुलाई सामान्य ठान्नुहुन्छ । लक्षित समूहभन्दा पनि युवकयुवती गएर खोप केन्द्रमा धाँधली गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य प्रमुख मिजार भन्नुहुन्छ, “युवकयुवती नै अघि सरेपछि सरकारले तोकेका लक्षित समूहले खोप लगाउन पाएनन् ।” अहिले सरकारले ५० वर्षमाथिका व्यक्तिलाई खोप लगाइरहेको छ ।

खोप केन्द्रमा भएको भीडले गर्दा खोप केन्द्रबाटै कोरोना सर्न सक्ने सम्भावना रहेको मिजारको भनाइ छ ।

घुसपैठले ठूलो समस्या

खोप केन्द्रको समस्या भक्तपुरको मात्र होइन । काठमाडौँमा पनि उत्तिकै समस्या रहेको छ । स्वास्थ्य कार्यालय काठमाडाँैका प्रमुख बद्रीबहादुर खड्काले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा लक्षित समूहभन्दा अरू उमेर समूहका व्यक्तिको घुसपैठ नियन्त्रण गर्न कठिन भएको जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा कोभिडका बिरामीको चाप पनि बढ्न गएको हुँदा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको जानकारी दिनुभयो । उहाँले लक्षित समूहभन्दा अन्य व्यक्तिको घुसपैठले खोप लगाउने काममा मुख्य बाधा पु¥याइरहेको उल्लेख गर्नुभयो । यी दुई अस्पतालमा लक्षित समूहभन्दा धेरै मानिसको भीड रहेकाले खोप लगाउने कार्य स्थगित गर्नुपरेको उहाँको भनाइ छ ।

राजधानीमै ११ लाखभन्दा बढी

काठमाडाँै स्वास्थ्य कार्यालयका प्रमुख खड्काले हालसम्म काठमाडौँमा ११ लाख ५० हजारले खोप लगाइसकेको जानकारी दिनुभयो । तीमध्ये दोस्रो मात्रासमेत पाइसकेका सङ्ख्या चार लाख ६९ हजार ३१० रहेको बताउँदै उहाँले विद्युतीय दर्ता गर्न र लक्षित समूहमात्र लाइनमा बसेर खोप लगाउन आग्रह गर्नुभयो । काठमाडाँैमा कोभिसिल्डको पूर्णमात्रा लगाउने सङ्ख्या ८९ हजार ८९४ रहेको छ । जोन्सन खोप एक लाख ३३ हजार ७२६ जनाले लगाएका छन् ।

हातपातसम्मको अवस्था

काठमाडौँ स्वास्थ्य कार्यालय प्रमुख खड्काले शनिबारमात्रै दुई स्वास्थ्यकर्मीमाथि हातपात भएको जानकारी दिनुभयो । उहाँले टोखा नगरपालिकामा लाममा बसेका लक्षित समूहभन्दा बाहेकका अन्य व्यक्तिबाट हातपात भएकाले खोप कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । यस्तै गोकर्णेश्वर नगरपालिकामा समेत खोप कार्यक्रम स्थगित भएको छ ।

जनशक्तिसमेत अभाव

प्रमुख खड्काले खोप कार्यक्रम अघि बढाउन जनशक्ति अभाव रहेको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयमा न्यून मात्रामा मात्र कर्मचारी रहेको भन्दै उहाँले स्थायी कर्मचारी छ जनामात्र रहेकाले केही समस्या भएको बताउनुभयो । करारका २१ जना कर्मचारीबाट काम भइरहेकोमा १६ जना कर्मचारीको शनिबारदेखि करार अवधि सकिएकाले सीमित कर्मचारीबाट खोप लगाउने कामलगायतका अन्य काम गर्न ज्यादै कठिन रहेको गुनासो गर्नुभयो ।

सुरुमा काठमाडौँका १२ वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । हाल उक्त सङ्ख्या बढाएर ६७ वटाभन्दा बढी खोप केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइएको छ । यस्तै, भक्तपुर जिल्लामा हालसम्म ३८ वटा केन्द्रबाट खोप लगाउने कार्य जारी छ । भक्तपुर स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले पूर्णमात्रा लगाउनेको सङ्ख्या ८२ हजार ३९२ रहेको जानकारी दिँदै तीमध्ये भेरोसेल खोप लगाउनेको सङ्ख्या ४८ हजार २५७ रहेको बताउनुभयो ।

ललितपुरमा खोप अभाव

ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले खोप केन्द्रमा खोप पर्याप्त मात्रामा नहुनु नै प्रमुख समस्या रहेको बताउनुभयो । ललितपुर महानगरमा ४५ वर्षसम्मका लागि मात्रै खोप लगाएको जानकारी दिँदै डा. गेलालले हाल ७२ वटा केन्द्रबाट खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । खोप लगाउन जनशक्ति पर्याप्त रहेको पनि उहाँले जानकारी दिनुभयो ।