७ बैशाख २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक ३ बजे बस्दै, नेता नेपाललाई मनाउने प्रयास जारी

oli uml tulasilal 69

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज ३ बजे बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक तय भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकका लागि हिजो शनिबार नै तय गरिएका मुख्य तीन वटा एजेण्डामा केन्द्रित भएर छलफल हुने उहाँले बताउनुभयो । कार्यालय सचिव तामाङकाअनुसार केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण मुख्य एजेण्डा छन् । त्यससँगै विघटित कार्यदलका सदस्यहरुले आन्तरिक विवाद समाधानका लागि प्रयास जारी राख्नुभएकाले ३ बजेअघिसम्म सो प्रयास हुने उहाँले बताउनुभयो ।

एमालेले साउन २५ गते विधान महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । तयारीका लागि विभिन्न उपसमिति गठन हुने पनि नेता तामाङले बताउनुभयो । त्यस्तै, बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक विषयमा गरिएको प्रयास र प्रगतिबारे हिजो शनिबारको बैठकमा व्रिफिङ गर्नुभएको थियो ।

आज पनि विघटित कार्यदलस्तरमा अनौपचारिक छलफल जारी रहने र नेता माधवकुमार नेपालसँग परामर्श गरिने कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । कार्यदलका सदस्यले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको भेटघाट गराउने प्रयास गरिरहनुभएको छ । तर त्यो वातावरण अहिलेसम्म बन्न सकेको छैन ।

नेता नेपालले १० बुँदे सहमतिमा विमति राख्दै त्यसको परिमार्जनको माग गर्दैआउनुभएको छ । नेपाल पक्षबाट कार्यदलमा रहनुभएका नेताहरुले अध्यक्ष ओलीसँग संवाद गरी बाँकी कुरा शीर्ष तहमै सहमति खोज्न सुझाइरहनु भएको छ । सो पक्षका कार्यदलका सदस्य गोकर्ण विष्टकाअनुसार आज पनि सहमतिको प्रयास जारी रहने बताउनुभयो । आज राखिएको ३ बजेको स्थायी कमिटी बैठकमा सहभागी हुने नहुनेबारे तय भइनसकेको जानकारी दिनुभयो ।