१३ बैशाख २०८१, बिहीबार

माडीस्थित किरण केसी (रातामकै)को ४० बिघा जग्गा वैद्य माओवादीद्वारा कब्जा

kiran kc actor

मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी (राता मकै)को माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गरेको छ । शनिबार दिउँसो १ बजे झण्डा गाडेर जग्गालाई कब्जा गरेको जनाएको हो ।

अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी-वान प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । माडी नगरपालिका-२ पौहाडी (बरुवा बजारभन्दा केही परको गाउँ)को प्लटिङ जग्गालाई कब्जा गरिएको हो ।

jagga kabja

‘जबसम्म प्लटिङ गरिएको उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले पाउँदैनन् तबसम्म यो जग्गा हाम्रै कब्जामा रहन्छ’ अध्यक्ष सुनारले भने, ‘हामीले दबाबका लागि पनि यस्तो निर्णय गरेका हौं ।’

ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनले लगाउँदै आएको छ । ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुरमा पनि काम गरिरहेको जनाइएको छ ।

केसी सहभागि भनिएको उक्त प्लटिङ कम्पनीमा अन्य केही कलाकारहरु पनि संलग्न रहेको दावी गरिएको छ । तर, काठमाडौंमा रहेका कलाकार केसीले भने जग्गा कब्जाबारे आफूलाई जानकारी नभएको दाबी गरे । ‘म यसबारे बुझ्दैछु’ उनले भने ।