११ बैशाख २०८१, मंगलवार

काेराेनाका कारण जापानमा पुनः स्वास्थ्य सङ्कटकाल घोषणा

Japan Jobless
फाइल फोटो

जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार स्वास्थ्य सङ्कटकालको अवस्था घोषणा गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराइएको छ ।

टोकियो महानगरीय सरकारले जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै तीन हजार ८६५व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि गरेको छ ।

त्यसैगरी जापानभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या १० हजार ६९९ पुगेको छ । टोकियो र देशभरका यी दुवै सङ्क्रमित सङ्ख्याहरू महामारी सुरु भएदेखिकै सबैभन्दा बढी हो ।

कतिपय स्थानमा स्वास्थ्य सङ्कटकाल विगत तीन हप्तादेखि जारी रहेपनि सङ्क्रमणको लहर ढिलो हुँदैछ भन्ने कुनै सङ्केत नपाइएको जापानी टेलीभिजन एन एच के वर्ल्डले जनाएको छ ।

स्वास्थ्य सङ्कटकालीन अवस्था लागु भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत् पनि पुष्टि गरेका छन् । टोकियो र ओकिनावाका आकस्मिक अवस्थाहरू सुरुमा अगस्ट २२ मा समाप्त हुने तय गरिएको थियो । ओलम्पिक र अगस्टको मध्य ओबोन बिदालाई समेट्ने गरी पछिल्ला यी उपायहरू अबलम्बन गरिएको सरकारले बताएको छ ।