१३ बैशाख २०८१, बिहीबार

महाकालीमा तुइन तर्ने क्रममा धामी आफैँ खसेका हुन्, एसएसबीको संलग्नता छैन भारतीय पक्ष

darchula

तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

दार्चुलाको महाकाली नदीमा तुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको हो।

दार्चुलाका प्रजिअ जोशीले आफूहरूले गरेको पत्राचारको लिखित जवाफ भारतीय पक्षले पठाएको जानकारी दिए ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन्।

उनका अनुसार भारतीय पक्षले तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको र उक्त घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरेको छ ।

‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाउनुभएको छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘तुुइन तर्न नसकेर युवक आफैं खसेका हुुन्। बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन। त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुभएको छ।’

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए।

भारत पिथौरागढका जिल्ला अधिकारीले बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको र त्यो आफूहरूको उद्देश्य पनि नभएको बताएका छन् ।

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ।

पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन्। शुुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए।

शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।

उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।