७ बैशाख २०८१, शुक्रबार

रातो माटो क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै

Ghodagaun rato mato

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङदेखि पूर्व दक्षिण क्षेत्रमा रहेको घोडागाउको रातो माटो अहिले सबैको आकर्षक केन्द्र बन्दै गइरहेको छ ।

घोडा गाउँस्थित रातो माटो भएको उक्त ठाउँ प्राकृतिक, सांस्कृतिक, धार्मिक कार्यसँग जोडिएको हुनाले यो सबैको चासोको रुपमा रहेको पाउन सकिन्छ ।

प्रकृतिका हरेक उपहारहरू सुन्दरताले सुसज्जित हुन्छन् नै । प्रकृति आफैमा सुन्दर र शाश्वत हो, प्रकृति कलाको विशाल भण्डार पनि हो । कलायुक्त अन्तर्हृदय सृष्टिलाई स्पर्श गर्न सक्ने मानव सुखी, भावुक र कलाको पारखी हुन्छन् ।

त्यसैले आन्तरिक पर्यटकहरू यहाँको रातो माटो अवलोकन गर्न, वनभोज खान, रमाउन, खुसी साट्न र उक्त रातो माटोमा फोटो खिच्नलाई आउने गर्दछन् ।

ghodagaun rato mato 1

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको उक्त रातो माटोकोमुनि एउटा सुन्दर ओवाङ बस्ती रहेको छ । सालको रुखहरू भएको रातो माटाको जङ्गल क्षेत्रमा अनौठा विशाल कलापूर्ण गुफाहरू रहेका छन् । यहाँ प्राकृतिक कलायुक्त ओडारहरू रहेका छन् ।

रातो माटोबाट माडी खोला सुसाउँदै अविरल बगिरहेको देख्न सकिन्छ भने सुन्दर खुङ्ग्री गाउँ, त्रिपुरेश्वरी मन्दिर र माडी खोलाका सुन्दर बस्तीहरू सारी, भिङ्ग्री गाउँहरू त्यसैगरी स्वर्गद्वारी महाप्रभुको मन्दिर दक्षिणतर्फ प्रष्ट देख्न सकिने भएकोले रातो माटो क्षेत्रलाई सबैको आकर्षक केन्द्रको रुपमा लिन थालिएको छ ।

रातो माटो क्षेत्र अहिले नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको र यस क्षेत्रलाई प्रचार प्रसार गर्न सकियो भने आन्तरिक मात्र हैन बाह्य पर्यटकको पनि आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।