१२ बैशाख २०८१, बुधबार

वीरगञ्ज : लाइसेन्स बनाउन आएका युवकको ह-त्या, ३ जना पक्राउ

arest 1

काठमाडौंबाट लाइसेन्स बनाउन वीरगन्ज आएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन, सोही ठाउका २७ वर्षीय दीप लामा र बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजक रहेका छन् । हत्यामा संलग्न भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने पक्राउ पर्न सकेका छैन् ।

सर्लाहीको लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन गत बुधबार वीरगन्ज आएका थिए । सोही दिन वीरगन्ज ७ रामटोल स्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परे । उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीन जना विरुद्ध कर्त’व्य ज्या’न सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या

गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ ।

प्रहरीले उनकै साथी अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

घटनामा संलग्न भारत बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगञ्ज– १६ नगवा बस्ने रवि सर्राफ फरार छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज आएका थिए । साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । त्यहाँ उनीहरुले मादकपदार्थ सेवन गरे । साउन १४ गते बिहीबार बिहान १:३० बजे काठमाडौंबाट आएका दुईजनालाई छोडेर ज्ञानुलाई थप बियर किन्ने बहाना गरी बाहिर लगे । रामटोलकै एकान्त ठाउँको खाली जग्गामा ज्ञानुको घाँटीमा लक लगाइ हत्या गरे । त्यसपछि उनीहरुले सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटे । लुटपाटपछि लुटेको समान सहित रवी भागे । बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

केही समयपछि भ्यानमा प्रहरीको अर्को टोली समेत आइपुग्यो । खोजतलासको क्रममा रामटोलको खाली जग्गामा एक युवक लडेको देखियो । उनीहरुले त्यही नै आफ्नो साथी भएको बताएपछि उनलाई नारायणी अस्पताल लगियो । अस्पतालले मृत घोषित गर्यो । मृतकको औंलामा औंठी निकालेको घाउ देखेपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लियो । जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान गर्दा उनीहरुले घटनाबारे जानकारी दिएका थिए । प्रहरीले दीपलामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा समेत बरामद भएको जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले ज्ञानुसँग भएको नगद र सुनका गहना लुटेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् ।

‘फरार अभियुक्त रवी पहिले पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनीहरुले योजनाबद्ध ढंगले कुहिनाले घाँटीमा लक लगाएर ज्ञानुको हत्या गरेको पाइएको छ,’ उनले भने, ‘ज्ञानुसँग धेरै पैसा छ भन्ने भ्रममा उनीहरु रहेछन्, तर सुनको सिक्री, नगद गरेर २ लाख बराबरको मात्रै समान फेला पारेको देखिन्छ ।’