१६ चैत्र २०८०, शुक्रबार

अनुदान खान छिमेकीको भैँसी देखाइयाे

buffalo milk
फाइल फोटो

गुल्मीमा अनुदान खानकै लागि छिमेकीको भैँसी केही दिनलाई ल्याएर अनुदान खाएको खुलेको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का किसान देबीप्रसाद पन्थले गाउँपालिकाको अनुदान खानका लागि छिमेकीको घरबाट भैसी ल्याइ गोठमा देखाएको र अनुदान पश्चात फिर्ता गरेको रहस्य खुलेको हो ।

दुईवटा लैनो भैँसी पालेवापत गाउँपालिकाले ७५ हजार अनुदान दिने भएपछि कृषकहरुले गाउँपालिका प्रति छारो हालेर अनुदान खाने गरेको खुलेको हो ।

यता कृषक देबीप्रसाद पन्थले छिमेकी हुमानाथ पन्थकोबाट ८२ हजार रुपैयाँमा भैँसी किनेर लगेको दाबी गर्नुभयो । भैँसी किनेर लगेपश्चात महिलाहरुलाई नजिक पर्न नदिने, हान्ने र ठूलो भएका कारण आफू बेच्न बाध्य भएको बताउनुभयो । आफूले भैँसी बेच्ने भनेपछि हुमानाथ आफैँले लान्छु भनेर उहाँलाई नै दिएको उहाँको जिकीर छ ।

देबीप्रसादसँग शनिबार बिहान फोन सम्पर्क गर्दा आफूले अहिले ७५ हजारमा अर्को भैँसी किनेर बाटोमा लैजाँदै गरेको बताउनुभयो ।
यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले गाउँपालिकाबाट अनुदान लिएका कृषकले दुईवटा भैँसी दुई वर्षसम्म अनिवार्य रुपमा पाल्नु पर्ने प्रावधान बनाएको बताउनुभयो । परिवारमा विशेष समस्याहरु आए भने वा पाल्न नसक्ने अवस्था आएमा म भैँसी पाल्न सक्दिन भनेर गाउँपालिकामा निवेदन दिनपर्ने पन्थले बताउनुभयो ।

यदि कसैले अनुदान लिएर त्यसको दुरुपयोग गरेको छ भने त्यसलाई कारवाही गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।
यस अघि आर्थिक वर्ष २०७५।०७६ मा पनि सोही गाउँपालिकाको वडा नम्बर ५ खरज्याङको ढुंगे देउरालीमा कागती रोपण कार्यक्रममा पनि यस्तै अनियमितता भएको थियो ।

तत्कालिन प्रदेश ५ भूमि व्यवस्था तथा कृषि मन्त्रालयको १३ लाख ६२ जार ६५० अनुदान र गाउँपालिकाको दुई लाख ३४ हजार ७७६ रुपैयाँ गरी कुल १५ लाख ५५ हजार ४२६ रुपैयाँको योजनामा पनि अनियमितता भएको थियो ।