१३ बैशाख २०८१, बिहीबार

नेकपा एमाले विघटित कार्यदलका सदस्यहरुको बैठक सकियो, ठोस सहमति बनेन

uml karayadal 1
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विघटित कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक सकिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा पार्टीको आन्तरिक विवाद मिलाउने प्रयास भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

करिब दुई घण्टासम्म बसेको अनौपचारिक बैठकले सहमतिको प्रयास जारी राख्ने सहमति गरेको उहाँले बताउनुभयो । केही विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्नुपर्ने भन्दै सो पक्षका नेताहरु नेता नेपाललाई भेट्न जानुभएको नेता नेम्वाङले जानकारी दिनुभयो । विघटित कार्यदलका सदस्यहरु नियमित आन्तरिक छलफलमा रहनुभएको भएको छ ।

एमालेले आजै अपरान्ह ३ बजे स्थायी कमिटी बैठक तय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा अहिलेसम्म विघटित कार्यदलका सदस्यहरुले पार्टी एकताका विषयमा जानकारी गराउने तयारी गर्नुभएको छ । स्थायी कमिटी बैठक अघि सहमतिको प्रयास गरेका कार्यदलका सदस्यहरुले ठोस सहमति जुटाउन नसके पनि संवाद टुटन दिनुभएको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबारसम्म सहमतिको प्रयासका लागि निर्देशन दिनुभएको भएपनि सहमतिको प्रयास जारी राख्ने कुरा भएको नेता नेम्वाङले जानकारी दिनुभयो । विभिन्न विषयमा एकता र सहमति गर्नुपर्ने विषय भएकाले एकै छिनको प्रयासले एकता बन्न सक्ने अवस्था नहुने र त्यसकालागि नियमित छलफल कायम राख्ने उहाँले बताउनुभयो ।

“एकताको सहमतिका लागि आजै, भोलि वा पर्सी भनेर समय तोकिएको छैन, हामी सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने भनेका छौं” नेता नेम्वाङले भन्नुभयो । आजको स्थायी कमिटी बैठकमा एकता प्रयासमा भएको प्रगतिबारे जानकारी गराउनुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

विघटित कार्यदलमा अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल सदस्य रहनुभएको छ । त्यस्तै, माधव पक्षबाट भीमबहादुर रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीमप्रसाद आचार्य सदस्य रहनुभएको छ ।