१३ बैशाख २०८१, बिहीबार

अनौपचारिक छलफलमा एमाले विघटित कार्यदलका नेताहरू

uml 1

नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरू पुन: छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठकअघि एउटा निचोडमा पुग्न कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी छन् ।

कार्यदलका दुवै पक्षका नेताहरू एकता प्रयासका लागि शीर्ष नेताहरूलाई संवादमा ल्याउन प्रयासमा छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल भएको छैन ।

अध्यक्ष अ‍ोलीले एकताको नाममा लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै आज टुंगोमा पुग्न कार्यदलका नेताहरूलाई आग्रह गरेका छन् ।

माधव नेपाललाई एकताको पक्षमा मनाउन ओली पक्षीय नेताहरु पौडेल र नेम्वाङले शुक्रबार र शनिबार पालैपालो भेटेका थिए । नेपालले आउने महाधिवेशनसम्म ओली सरह अधिकारसहितको अध्यक्ष माग गरेका छन् ।