१६ चैत्र २०८०, शुक्रबार

एसएसबीले तुइन काट्दा नेपाली नागरिक महाकालीमा बेपत्ता भएपछि छानबिन समिति गठन

ministar home

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी निकाल्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गठन गर्नुभएको हो ।

समितिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन्।

गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ।

हिजो बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीयले बताएका छन्।

घटनाको सर्वत्र विरोध भइरहेको छ। दार्चुलाको ब्यास गाउँपालिकाका ३५ वर्षीय युवा जयसिंह धामी तरिरहँदा भारतीय सुरक्षा फौज एसएसबीले महाकाली नदीमा नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने तुइन काटिदिएको स्थानीय बासिन्दाले बताएका छन् ।