१३ बैशाख २०८१, बिहीबार

क्यूआर कोड सहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन

ccmc nepal sigha durbar

प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो ।

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोड सहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।

सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिनुभयो । विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले यो नियमित बैठक भएको र प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएर कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिनुभएको बताउनुभयो ।

उहाँले तत्काल लकडाउनमा जाने विषयमा कुनै तयारी नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सामाजिक दूरीसाथ व्यवस्थित गर्ने कार्य केही दिनपछि नै गरिने विश्वास व्यक्त गर्नुभयो ।